मन्त्रीमण्डल पुर्नगठन : एकीकृत समाजवादीका चार मन्त्री फिर्ता चारै नियुक्त

१२ असार, काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन भएको हो ।

गएको २२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीले चारमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको सूचीअनुसार, नयाँ मन्त्रीहरू नियुक्त भएनन् ।

बरु फिर्ता बोलाइएका मन्त्रीहरूको सक्रियता भने अस्वभाविक रुपमा बढ्यो, पार्टी नै संकटमा देखियो । मुख्यगरी १० असारमा मन्त्री हेरफेर गर्ने पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक माग गरिएपछि एकीकृत समाजवादी विभाजन नजिक पुगेको अनुमान गरिएको थियो ।

‘त्यो ठूलै समस्या थियो । संसदीय दलको बैठक माग गरिनु भनेको त दलको नेता परिवर्तनकै चेतावनी भनेर बुझ्न सकिन्थ्यो’, प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडा भन्छन् । २२ असोज ०७८ मा मन्त्री बनेका रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेम आले सहित १० सांसदले मन्त्री हेरफेर गर्ने पार्टीबारे छलफल गर्न भन्दै दलको बैठक मागेका थिए ।

आज नियुक्त भएका मन्त्रीहरुको भोलि सोमबार बिहान शपथ गराउने तयारी छ । तर तीन सातादेखि चर्चामा रहे पनि हुन नसकेको मन्त्रिपरिषद् पुनर्गठन भने आइतबार साँझ भएको छ ।