प्रधानमन्त्रीको प्रस्ताव : कोरोना अन्त्यपछि वामदेव प्रधानमन्त्री, माधव तेस्रो वरियताका अध्यक्ष

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् ।
नेकपामा विवाद चर्किएको बेला आज बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका प्रधानमन्त्रीले बीचमा रोक्दै माधव र बामदेवका बारेमा प्रस्ताव राखेका थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अहिले प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहसाइ मात्र हुने उनको तर्क थियो ।
तर कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो । साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । अध्यक्ष प्रचण्डले लगाएको सबै आरोप खारेज गर्ने समेत अध्यक्ष ओलीले बताएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।