सचिवालय बैठक सकियो, पुनः २० गते बस्नेगरी

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक रस्साकस्सीका बीच बसेको बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेको बताइएको छ । पुनः २० गते अर्को बैठक बस्ने गरी सकिएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पत्रकारहरुलाई जानकारी दिएका छन् । बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता भने, आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ । यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्ने बताएका छन् ।