काठमाडौं महानगरपालिकाले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका हलुका सवारी साधनलाई कार्य सम्पादनको आधारमा व्यवस्थापन गर्न सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग हुने गरेको एक अध्ययनले देखाएको थियो । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन ।

सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिर २०७७ वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदनअनुसार महानगरका सवारी र इन्धनको व्यापक दुरुपयोग भएको पाइएको छ । साथै, यसमा महानगरका विभागीय प्रमुखदेखि तल्ला तहसम्मका कर्मचारी संलग्न भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

महानगरमा ५५ देखि ६० वटा चारपांग्रे सवारी रहेको र मोटरसाइकल त कति छन् भन्ने विवरण नै नभेटिएको समितिको निष्कर्ष थियो ।

उपलब्ध सवारी साधानको विवरण प्रतिवेदनमा समेटिएको छ । समितिका सदस्यकाअनुसार महानगरका अधिकांश सवारीको वार्षिक रुपमा तिनुपर्ने कर पनि तिरिएको छैन ।

कतिपय विभागीय प्रमुखले दुई वटा गाडी प्रयोग गरिरहेको पाइएको छ । कतिपय गाडीमा सेतो नम्बर प्लेट नराखी रातो राखिएको पाइएको छ, जुन कर्मचारीको परिवार तथा आफन्तले प्रयोग गर्ने गरेका छन् । यसैगरी कतिपय सवारीलाई महानगरका कर्मचारीले लिएदेखि नै फिर्ता नगर्ने र पेवा बनाएको खुलेको छ ।