काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम आज ल्याएको छ । मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने बताए ।

‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए । स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रममार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

 काठमाडौं महानगरका नीति तथा कार्यक्रम
–काठमाडौंको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गरिने
–स्वच्छ र पर्यावरणीय सहर बनाउने
–जनतासँग प्रत्यक्ष जोडिनेगरी वडाको स्तरोन्नती र सुधार गरिने
–सडक सञ्जाल, खानेपानी ढलको सुव्यवस्थापन गरिने
–विपी कोइराला मेमोरियल ट्रस्ट अनुसन्धान केन्द्र भवन निर्माणका लागि ३ करोड, मदन भण्डारी मेमोरियल कलेज निर्माणका लागि ५ करोड, नेशनल हेल्थ चाइल्ड केयर अस्पताल भवन निर्माणका लागि ४ करोड, क्षेत्रपाटी निःशुल्क अस्पताल निर्माणका लागि ५ करोड रुपैयाँको व्यवस्था गरिने
–भगिनी सम्बन्ध कायम भएका डडेल्धुरा अमरगढी र धनकुटाको पाख्रीबासको पर्यटन विकास एवं विस्तारका लागि १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगको व्यवस्था गरिने
–मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि क्रमशः २ करोड ५० लाख र ५० लाख उपलब्ध गराइने
–काठमाडौं महानगरलाई साक्षर महानगर घोषणा गरिने
–महानगरभित्रका हस्पिटल, क्लिनिक तथा स्वास्थ्य चौकीहरुलाई सहरी स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने
–अग्रणी होटल पर्यटन तथा भोजनालयहरूलाई प्राविधिक सहयोग गर्ने
–पूर्वाधार एम्बुलेन्सलाई निरन्तरता दिने र आवश्यक सामाग्रीको व्यवस्था गर्ने
–सार्वजनिक यातायातका प्रतिक्षालयहरुमा परम्परागत फल्चाको व्यवस्था गरिने
–महानगरपालिकाभित्र डबली तथा एम्पी थिएटरहरूको निर्माण गरिने
–विश्व सम्पदा सूचीमा परेका महानगरभित्रका मठमन्दिर तथा स्तुपा, चैत्यहरुलाई संक्षण र प्रवद्र्धन गरिने
–काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन केन्द्रको रुपमा विकास गरिने
–परम्परागत धार्मिक तथा एैतिहासिक धरोहरलाई नेपाल भाषामार्फत नामकरण गरिने
–नेवारी उत्पादनको पेय पदार्थलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने
–महानगरपालिका भित्रका सबै कार्यालयहरूमा सीसीटीभीको व्यवस्था गरिने
–हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम राखी जनसरोकारका विषयमा संवाद गरिने
राजस्व तथा वित्त व्यवस्थापनतर्फ 
–महानगरभित्र कर प्रणालीलाई सहज, पारदर्शी र वैज्ञानिक बनाउँदै सुविधाजनक बनाइने
–करदाताको विद्युतीय लगत राख्न छुट्दै एपको विकास गरिने
–घरजग्गा कारोबारका लागि कम्पनीको व्यवस्था गरिने
–करका दरलाई परिमार्जन गरिने
–कर संकलनका लागि अनलाइन प्रणालीमा थप सुधार गरिने
–विज्ञापन, होडिङ बोर्ड लगायतका प्रचारप्रसार सामग्रीहरुको साइज र स्थानलाई व्यवस्थित गरिने
–महानगरपालिका भित्र  बहुतलीय भवनहरूको करको दर परिमार्जन गरिने
–स्वदेशी तथा विदेशी चलचित्र निर्माणका लागि अनुदानको व्यवस्था गरिने
–विदाका दिन समेत कर कार्यालय खुल्ला गर्ने व्यवस्था गर्ने
–पार्किङ्गलाई व्यवस्थित गरिने
–जीपीएस ट्याकिङ्ग सहितको सीसीटीभीको व्यवस्था गरिने
–महानगरभित्र भर्टिकल पार्किङको व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहन
–खुल्लामञ्च नजिकै रहेको जग्गामा रिभर्स बोरिक सहितको अन्डर पार्किङको अध्ययन गरिने
–फुटपाथमा पस हटाउने
–नमुनाका रुपमा सहरका केही स्थानमा महानगरको आफ्नै मार्ट खोल्ने
–जेष्ठ नागरिक मिलन केन्द्र बनाइने
–काठमाडौं महानगरभित्र रहेका पूर्ण सशक्त ‘क’ वर्गका लागि दिँदै आएको मासिक ३ हजार रूपैयाँलाई बढाएर ६ हजार रुपैयाँ प्रदान गर्ने
–अपाङ्गमैत्री बैंक, एटिएमको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिने
खेलकुद
–खुल्ला व्यायामशाला एरोब्रिक्स, योग तथा आवश्यक खेलको विकास गरिने
–बैंक तथा वित्तीय संस्थाहरुलाई सीएसआरको पैसा खेल विकासमा लगानी गर्न प्रोत्साहन गरिने
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूसँग सहकार्य गरि खेलको आयोजनाहरु गरिने
–अन्तरनगर खेलकुद कार्यक्रम सञ्चालन गरिने
–सन्ध्याकालीन खेलका लागि लाइटको व्यवस्था
सीप विकास तथा उद्यमशिलता प्रवद्र्धन
–मूर्तिकला, काठकला, धातुकला, बाजा निर्माणको सीपको व्यवस्था गरिने
–उद्योग तथा उद्यमीलाई प्राविधिक सहयोगका साथै कर छुट, सहुलियत प्रदान गरिने
–स्थानीय उत्पादनलाई महानगर भित्रकै सपिङ्ग सेन्टर डिपार्टमेन्ट स्टोरहरूमा बिक्री वितरणको व्यवस्था गरिने
–रात्रिकालिन व्यवसायलाई सुरक्षित र मर्यादित राखी व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गरिने
सहकारी सम्वन्धी नीति
–सहकारी संस्था दर्ता नवीकरण कार्यलाई विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइने
–बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम व्यवस्थापनका लागि सहकारीको अनुगमन नियमन गर्न छुट्दै संयन्त्रको विकास गरि परिचालन गरिने
–सहकारी संस्थाहरुको संस्थागत विकास विस्तार एवं सुधारका लागि ई–सहकारी कार्यक्रम ल्याइने
हाल भएका कार्यहरु
–आवधिक योजनाको मस्यौदा तयार
–६ वटा सहकारीको एकीकरण
–नेपाल भाषाको जगेर्नाका लागि ८ कक्षासम्म पठनपाठनको व्यवस्थापन
–कोभिड–१९ को उपचार,स्वास्थ्य सुरक्षा लगायत तीब्र सुव्यवस्थापनका लागि कल सेन्टर स्थापना
–२०७८ असार मसान्तसम्म ७५ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई मेयर विशेष मासिक १२ हजार रुपैयाँको निरन्तरता
–सार्वजनिक क्षेत्रमा २५ वटा पार्क, १६.५२ सडक कालोपत्र, १.९८ किलोमिटर सडक ढलान, ७१८ वर्ग मिटर ढुंगा छाप्ने कार्य, ४.३९ ब्लक छाप्ने, ३. ढल राख्ने कार्य १.७६ किलोमिटर रेटेलिरिङ्ग वाल निर्माण गरिएको