एडीबीले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियत ऋृण दिने

१७ बैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच आज टेलिफोन वार्ता भएको छ । वार्तामा उक्त सहायता उपलब्ध गराउन लागेकोमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई धन्यवाद व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा. खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको बताइएको छ ।
अर्थमन्त्रीले कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी अध्यक्षलाई गराएका थिए ।
अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगप्रति प्रशंसा गरेका थिए । नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनु पर्ने र अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने आवश्यकता नेपालसँग रहेको उनले बताएका थिए । यस सन्दर्भमा स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा गरेका छन् ।
कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई अर्थमन्त्रीले आग्रह गरेका
छन् ।
एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड (१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड (१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढाउँदै समेत जानकारी दिए । आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराएका छन् ।