काँग्रेस बैठकमा सरकारको कडा अलोचना सहित अपिल

१७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । आज बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरी विनियोजन गर्न माग गरेको हो ।
देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न काँग्रेसले माग गरेको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि काँग्रेसले माग गरेको छ ।
कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता काँग्रेसले औल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएबका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लक डाउनको समीक्षा पनि भएको छ । लकडाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकार नसकेको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारको चार्को आलोचना गरेको छ । बैठकको सुरुमा आफ्नो धारणा राखेको वरिष्ठ नेता रामचन्द्र पौडेले रक्षक नै भक्षक भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीमाथि खनिएका थिए ।
अन्य नेताहरु पनि राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो गतिविधिप्रति प्रश्न उठाएका थिए । यस्तै युवा नेताहरुले पार्टी सरकारविरुद्ध प्रस्ट ढंगले उभिन नसकेको भन्दै सभापति शेरबहादुर देउवाप्रति पनि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिबाट वर्तमान राज्य व्यवस्था नै खतरामा रहेकाले पार्टी चनाखो हुनुपर्ने बैठकमा नेताहरुको सुझाव छ । यद्यपि नेताहरुले सरकारमाथि प्रश्न उठाए पनि बैठक लकडाउन र लकडाउनपछिको प्रभावबारे केन्द्रित देखिएको छ ।
लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पिपिई अगायतका अत्यावश्यक सामग्री अभाव भएको काँग्रेसले जनाएको छ ।
पिपिई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले बताए ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेको नागरिकहरुको उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन काँग्रेसले सरकारसँग अपिल गरेको छ ।