स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गरेन

सम्मानीत नेता झलनाथ खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान नगरेकाे गुनासो गरेका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर–१५ मा आफ्ना उम्मेदवारलाई विजयी बनाउने स्थानीयलाई धन्यवाद दिन शनिबार आयोजित कार्यक्रममा खनालले गठबन्धनबाट पार्टीलाई धेरै फाइदा नभएको बताए । खानालले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो नजितासहित जितेको दाबी गरे ।

‘यो वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकापछि एक्लै चूनाव लड्ने निर्णय गर्यौं,’ उनले भने, ‘विद्रोहबाट गठन गरेको पार्टी ८ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको छ । जनतालाई भरोषा दिलाएर संगठन विस्तारलाई व्यापक बनाउँने योजना छ ।’

काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने खनालको भनाइ थियो । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख बिषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।