ए, पख्नुस्..! पख्नुस्..! पख्नुस् त !

प्रस्तुत आलेखको शीर्षक केही समय पहिलेदेखि सामाजिक सञ्जालमा निकै भाइरल भएको शब्दबाट सापटी लिइएको
हो ।

‘अगाडि ठूलै भइपरि वा विपत्ति आउँदै छ है’ भन्ने मान्यता स्वरुप यो शब्दलाई प्रयोग गरेर सञ्जालमा ट्रोलहरु बनाइएको
छ । ‘ए, पख्नुस् त !’ भन्ने आग्रहलाई बेवास्ता गरी अघि बढेकाहरु चिप्लिएको, खाडलमा परेको अथवा आपत खेप्नुपरेका दृश्यहरु सामाजिक सञ्जालमा स्पष्ट देख्न सकिन्छ ।

खास कुरो ढिपी, अहम् र अस्वाभाविक जिद्दीले मान्छेलाई कुबाटोतर्फ डोर्याउँछ भन्ने सान्दर्भीक उदाहरणस्वरुप यो शब्दभाव यहाँनेर जोडिएको हो । जसरी केही मुठ्ठीभर एलिटहरू आफ्नो लुटको बैकुण्ठ ढलेपछि गणतन्त्रको निरन्तर विरोध गरिरहेका छन्, त्यसरी नै उनीहरु समयचक्रको पिँधमा खुम्चिँदै गइरहेका छन् ।

विभिन्न समयमा अनेकन रुपधारण गरेर गणतन्त्रलाई बदनाम गर्ने र ‘यो व्यवस्था नै काम लाग्दैन’ भन्ने भ्रम फैलाएर यसविरुद्ध उही एकात्मक ढोंगी शासनलाई ब्यूउँताउने उनीहरुको अन्तिम लक्ष्य हो ।

यो व्यवस्थाले स्थापित गरेका आधारभूत मूल्य, मान्यताको शिखरमा बसेर यसैमाथि प्रहार गर्नेहरुलाई समयले पनि पटक–पटक कारबाही गरिनै रहेको छ । यद्यपि, यिनीहरुको बुद्धिको बिर्को भने अझै खुलेको छैन । किनकि किरो फोहरमा जन्मिन्छ र अन्ततः फोहरमै डुबेर मर्छ ।

आफैँले घाँटी निमोठेको संसद्को रोष्टममा उभिएर निर्लज्ज अहंकारको वान्ता गरेका नेताले मुख कुल्ला गरे कि गरेनन् होला ? घुमाउरो पाराले शान्ति सम्झौता र गणतन्त्रमाथि छिर्के हान्न खप्पिस बालकोटे प्रवृत्ति आज देशमा यो व्यवस्था नआएको भए कहाँ हुन्थ्यो होला ?

आफू दूधको पोखरीमा पौडिएको र अरु सबै रछ्यानमा चुर्लुम्मै डुबेको भन्ठान्ने ओली गुटले नौ महिनासम्म बन्धक बनाएको संसद् बैठक आफ्नो कुनचाहिँ माग पूरा भएर सुचारु गर्न दियो होला ? लगातार तीन घन्टासम्म संसद् जस्तो गरिमामय थलोमा स्तरहीन शब्दहरुबाट गालीगलौज बोलेर दुर्गन्धित बनाउनेहरुको लक्ष्य के होला ?

हुन त एजेन्डामा कुरा गर्न सक्ने ल्याकत भए पो तीन मिनेटमा भाषण सकिन्छ । गालीगलौज गर्न त घण्टौं समय चाहिन्छ । कहाँ पुग्ने होलान् यो अश्लीलताको मुकुट पहिरिएर बस्त्रविहीन दौडिरहेका उद्देश्यहीन ओलीहरु ?

मलाई बेलाबेला यिनीहरुको टिठलाग्दो स्वरुप देख्दा गहिरो चिन्ता लाग्ने गर्छ । ए….! न हतारिनुस् ! पख्नुस् ! पख्नुस् ! पख्नुस् त !

आफ्नै पार्टीका बहुमत नेता–कार्यकर्ताले ‘पख्नुस् त यसो नगरौं’ भन्दा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रावधान थप्ने ओली, आफ्नै समकक्षीले ‘अहिल्यै यस्तो गर्नु उचित होइन, रोकिनुस’ भन्दा इण्डो–प्यासिफिक रणनीतिमा हस्ताक्षर गराउने ओली, अमेरिकीहरूका लागि अन एराइभल भिसाको म्याद ६ महिना बढाउने ओली, ‘कम्युनिष्टहरूले यस्तो गर्नु निको होइन’ भनेर खबरदारी गर्दागर्दै होली वाइन सम्मेलनको आयोजन गर्ने ओली ।

तर, आज ती सबै विषय र सन्दर्भको अपजस जति गठबन्धन सरकारलाई लगाउने पनि उनै ओली । क्या गजबको राजनीति । राम्रा जति सबै हाम्रा भन्ने भ्रमित मानसिकता पालेर आफैँले भ्रष्टाचारको तरबारले छप्काएर ध्वस्त बनाएको राज्यको अर्थतन्त्रबारे संसद्मा बोलेको खोई ?

सत्तामा बस्दा साम्राज्यवादको कर्मचारी र सडकमा फालिदा देशभक्तिको धन्धा चलाउने ओली गुटको अकाट्य धर्म हो भन्ने कुरो सिंगो लोकले बुझिसकेको छ । फलस्वरूप स्थानीय तहको निर्वाचनमा नौ दलसँग गठबन्धन गरेर पनि ओली प्रवृत्तिले गतिलो जवाफ पाएको छ ।

निरन्तरको खबरदारीका बाबजुद ओलीको मति नबिग्रिएको भए आज एउटा गुटको होइन, उनका अघि देशकै नेतृत्व गर्ने सुनौलो अवसर थियो ।

विगतमा जान–अञ्जान गरेका राष्ट्रविरोधी गतिविधिहरु चोख्याउने मौका थियो । दुई–चार जना उखारमाउला शिष्यहरु भेला गराएर उपद्रो प्रवचन होइन, सभ्य र शिष्ट व्यक्तित्वको माझमा बसेर देश विकासको खाका कोर्ने सौभाग्य थियो ।

अन्ततः त्यो सबै गुम्यो । त्यो अवसर उनीबाट कसैले खोसेर अथवा हरण गरेर लगेको पक्कै होइन । स्वयं ओलीभित्रकै घनघोर लोभले लाभ र लाभले बिलाप गराएको सत्य हो भन्नेमा सिंगो लोक जानकार नै छ ।

र, अन्तमाः ओलीमात्रै होइनन्, फेरि पनि गरिखाने वर्गले बगाएको पसिनाको नुनिलो सुनकोसीमा बल्छी थाप्न पल्किएका सम्भ्रान्तहरुले आफ्नो साम्राज्य कायमै राख्ने दुस्साहसलाई निरन्तरता दिएका छन् ।

भेडीगोठजस्तै संसद्मा देशको कौडा हान्ने बानी परेका राजनीतिक जुवाडेहरूले यो खेललाई भुइँस्तरसम्मै विस्तार गरेका छन् । चुनावताका यतै विकास र उतै निकासका गफ हाँक्नेहरु मतगणना सकिएसँगै घोप्टाएको धनराशि कसरी परिपूर्ति गर्ने भन्ने जुगाडको जुइनो बाटिरहेका छन् ।

उसो त आँखामा रतन्धो टाँसेर उज्यालो निभाउँदै हिँडेका यी अँध्यारोका रखैलहरुको जादुको छडी चुनाव सकिएपछि स्वःस्फुर्त बेपत्ता हुन्छ नै । जतासुकैबाट मारमा पर्ने भनेको त उनै भुइँमान्छे हुन् । गरिखाने वर्गका सपनाहरु चुनावको भोलिपल्टबाटै भदौको बारुदे च्याउजस्तो फ्यास्स उड्छन् र हराउँदै जान्छन् ।

राजनीतिले गलत संस्कारलाई मलजल गर्दै निरन्तर खराब लेनमा हिँडेपछि बालेनहरुको उदय शाश्वत् हुनजान्छ । पारदर्शिता र जवाफदेहिताको थिति हराएको हाम्रो मुलुकको राजनीतिले गालीगलौज र आरोप–प्रत्यारोपलाई नै उच्चकोटी संस्कार बनाउन थालेपछि हर्क राईहरुको जन्म अपरिहार्य बन्दछ ।

‘बहस कम र हस् धेरै’ चल्ने बेथितिले नेपालको राजनीतिलाई तहसनहस नै बनाएको छ । आजका मितिसम्म यो थिति ‘ए, पख्नुस् त !’ भनेर एकैछिन पनि कसैको सुन्ने र पर्खिने पक्षमा छैन ।
– लमही दाङ