नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद गठन

२५ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् । त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य छन् ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौताअनुसार पाँच सदस्यीय सञ्चालक परिषदमा दुवै पक्षबाट क्रमसः ३ र २ जना रहने उल्लेख रहेको भन्दै क्यानका कार्यवाहक सचिव मल्लले सम्झौता कार्यान्वयन गरिएको अनलाइनखबरलाई बताए ।

भारतीय क्रिकेट खेलाडी संघका वर्तमान अध्यक्ष तथा भारतको पूर्व राष्ट्रिय क्रिकेटर अशोक मलहोत्राले पनि नेपाल टी–२० लिगको सञ्चालक परिषद सदस्यमा रहन सहमत हुनुलाई क्यानले ठूलो उपलब्धीका रुपमा लिएको छ ।