अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु

एजेन्सी

अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।

ओकलाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो।

अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ ।

गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । मे महिनामा एक बन्दुकधारीले बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको ज्यान गएको थियो ।