चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस्

काठमाडौं । ‘कबड्डी’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् ।

गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उनले भनेकी छन् ।

‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

जेठ १५ गते सिभिल मलको कफी सपमा फूर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फूर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए ।

मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद मत्थर भएको छ ।