ओलीको अर्लि महाधिबेशन माधवद्धारा अस्वीकार

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेको नेकपा स्रोतले जनाएको छ । तर, नेपालले उधारोमा सहमति नहुने र असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भव समेत नभएको भन्दै सो प्रस्ताव ठाडै अश्वीकार गरेको नेपालनिकट स्रोतले बताएको छ । नेकपाका संगठित सदस्यको संख्या समेत यकिन नभएको अवस्थामा अर्ली महाधिवेशन असम्भव नेपाल पक्षको भनाइ छ ।
पूर्वमाओवादी पक्षले आफ्ना सदस्यहरुको विवरण समेत अहिलेसम्म संगठन विभागलाई दिन सकेको छैन । ओली र माधव नेपाल मिलेर गर्ने ‘अर्ली महाधिवेशन’ मा प्रचण्डले सहमति जनाउने सम्भावना नहुने ती नेताले बताए । ओली कमरेडले असोज वा मंसिरमा महाधिवेशन गर्ने र माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव ल्याउनुभएको हो, तर त्यो भनेको अहिलेको संकट टार्ने मेलोमात्र हो । न त यति चाँडै महाधिवेशन गर्न सम्भव छ, न त पूर्वएमालेले मात्रै चाहेर प्रचण्डलाई सहमतिमा नलिई हुन सक्छ ।

माधव नेपालले ओलीसँग सहमतिका लागि दुईमध्ये एक पद छाड्नुपर्ने बटमलाइन दिएका छन् । बालुवाटारमा ओलीसँगको छलफल अघि सोमबार नेपाल निवासमा बसेको दुई पक्षको बैठकमा नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव सुनाएका थिए । तर, माधव पक्षका नेताहरुले अर्ली महाधिवेशनको प्रस्ताव खारेज गरेको स्रोतले जनाएको
छ ।
ओलीले अध्यक्ष पद छाडेमा प्रधानमन्त्रीबाट नहटाउने नेपाल पक्षको संकेत थियो । यदि केपी ओली सहमतिमा नआउने हो भने प्रचण्ड पक्षसँग मिलेर हटाउने तयारी नेपाल पक्षको छ । ओलीले भने अहिले अध्यक्ष छाड्दा आफूमाथि कारवाही गरेको सन्देश जाने भएकाले केही महिना पर्खिन आग्रह गरेको स्रोतले जनाएको छ ।
अर्कोतर्फ नेपाललाई अध्यक्ष छाड्दा प्रचण्ड पहिलो वरियतामा रहने र त्यसले एमाले ठूलो पार्टी माओवादी भन्दा तल परेको सन्देश जाने तर्कसमेत ओली पक्षका नेताहरुले गरेका छन् । नेपाल पक्षले भने ओलीले अध्यक्ष छाड्ने हो भने बरियतामा प्रचण्डलाई कन्भिन्स गर्न सकिने बताइरहेका छन् ।
यसैबीच, प्रधानमन्त्री ओलीले आफू दबाव र अप्ठेरोमा परेर दुवै पद नछाड्ने संकेत गरेका छन् । निकट नेताहरुसँगको कुराकानीमा दुवै पद छाड्नुपर्ने कारण नरहेको भन्दै सहमति नहुँदा परिस्थितिको सामना गर्ने बताएका छन् । मंगलबार प्रचण्डसँगको भेटमा पनि ओलीले यही कुरा बताएको स्रोतले जनाएको छ ।
केपी ओली वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउनेदेखि सचिवालयको संख्या बढाउन समेत सहमत छन् । मन्त्रिपरिषद पुनर्गठन र कतिपय मुख्यमन्त्री परिवर्तन गर्न समेत ओली पक्ष सहमत भए पनि अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने उनको अडान छ ।
मूल समस्या नै केपी ओलीमा छ । माधव नेपालको व्यवस्थापन नभई अरु मुख्यन्त्री वा मन्त्री हटाउने सहायक कुरामा हामी जानै चाहेका छैनौं ।