रूसीमाथि अमेरिकाले थप प्रतिवन्धको घोषणा

एजेन्सी

छिमेकी युक्रेनमाथि रूसी आक्रमणको विरोधस्वरूप अमेरिकाले रूसमाथि थप प्रतिवन्धको घोषणा गरेको छ।

तीन वटा रूसी टेलिभिजन स्टेशनसँगै अमेरिकाले रूस र बेलारूसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्ध लगाएको छ।

यस्तै रूसी वित्तिय संस्था ग्याजप्रम बैंकका अधिकारीमाथिसमेत अमेरिकाले रोक लगाएको छ।

उता औद्योगिक राष्ट्रहरूको समूह जी(सेभेनका नेताहरूले रूसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन कटिबद्ध भएको बताएका छन्।

यसैबीच अमेरिकाले रूसमाथि थप प्रतिबन्धको लगाएकै दिन अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमै भेट गरेकी छन्।

युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित एक विद्यालयमा उनीहरूबीच भेट भएको थियो।

अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित विस्थापितका लागि अस्थायी आश्रयस्थल बनाइएको विद्यालयमा भेट भएको हो।

भेटमा बाइडन पत्नीले संयुक्त राज्य अमेरिकाका जनता युक्रेनको साथमा रहेको दोहोर्‍याइन्।

फेब्रुअरी २४ देखि रूसले निरन्तर युक्रेनमाथि गरिरहेको निरन्तर आक्रमण क्रुर रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताइन्।

जेलेन्स्काले युक्रेन युद्धको चपेटामा रहँदाको यो भ्रमणलाई साहसी काम भन्दै अमेरिकाको प्रशंसा गरिन्।

उनले युक्रेन र अमेरिकामा मनाइने ‘मदर्स डे’ का दिन भएको भ्रमणले निकै प्रतिकात्मक सन्देश दिएको समेत बताइन्। ‘यस्तो महत्त्वपूर्ण दिनमा हामी तपाईँको माया र समर्थनलाई महसुस गर्छौ’, उनले भनिन्।

दुवै महिलाहरूले केही समय उक्त विद्यालयका बालबालिकासँग केही समय बिताएका थिए।