Breaking News

कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम

२४ वैशाख, काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ ।

उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

त्यतिबेला शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका
थिए ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामी रितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् ।

यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।