फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।

३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।

थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा ‘प्रेमगञ्ज’ नेपाली भाषा र अंग्रेजी सब टाइटलमा प्रदर्शन हुन लागेको हो । प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले भारत वितरण गर्न लागेका हुन् । फिल्म राम्रो बनेकोले भारतमा पनि रुचाउने सम्भावना देखेकोले रिलिज गर्न लागेको म्याबो ह्यङ्गले बताए । फिल्मलाई भारतीय बजारसम्म पुर्याउन कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहयोग गरेका छन् ।

परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय छ । राजु फुयालको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोडको लगानीमा भएको बताइएको छ ।