१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि लक्षित गर्दै धेरै दलहरुले पार्टीका घोषणा पत्र सार्वजनिक गरेपनि नेकपा माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।
माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने बताउँछन् ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।
‘हामी केन्द्रबाट घोषणा–पत्र, प्रतिवद्धता–पत्र ल्याएर हस्तक्षेप नगर्ने र जसले कार्यान्वयन गर्ने हो, जसले नजिक बसेर काम गर्ने हो, उसैले तयार गरोस् र भोलि ऊ जवाफदेही होस् भन्ने माओवादीको भनाई रहेको छ ।