१२ वैशाख, काठमाडौं । आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीइ निकाय चुनावमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वार टुंग्याएको छ ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।
त्यस्तै हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्वारी दिनेछन् ।
बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्वारी दिनेछन् ।
पार्टीको तर्फबाट उमेद्वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्वारी दिने निर्णय भएको महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।