प्रशारण भई अनलाईनमा पोष्ट भएको डा. बाबुराम भट्टराईको अन्तरसंवाद किन डिलिट गरियो त ?

१५ वैशाख, काठमाडौं । हालै गठन भएको जनता समाजवादी दलका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरसंवाद कार्यक्रमलाई दिएको अन्तर्वार्ता रेडियो नेपालले हटाएको छ । अनलाइन जततउस्ररचबमष्यलभउब।िनयख।लउ भित्र अडिओ ग्यालरीमा राखिएको अन्तरसंवादको सोमबारको अंक रेडियो नेपालले हटाएको हो ।
सोमबार विहान अन्तरसंवादका लागि पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई अतिथि थिए । उक्त कार्यक्रम समाचार महाशाखा प्रमुख नवराज लम्सालले सञ्चालन गरेका थिए । विहान ६ः३० बजे प्रत्यक्ष (लाइभ) प्रशारण भएको उक्त कार्यक्रममा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै राखेका विचार र प्रयोग गरिएका भाषामा पनि रेडियो नेपालले दुस्ख व्यक्त गरेको छ ।
भट्टराईले अन्तर्वार्तामा त्यस्तो के बोलेका थिए र हटाइयो भन्ने प्रश्नमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अशिष्ट भाषा बोलेकोले आफूहरूलाई दुखीत तुल्याएको बताए । उहाँले भष्मासुर भन्ने शब्द प्रयोग गर्नुभएको थियो । सांसद अपहरण भन्ने कुरा पनि गर्नुभयो । यी कुराहरू प्रधानमन्त्रीज्यूलाई लक्षित थिए,’ कार्कीले थपे, ‘ती शब्दहरू रेडियो नेपालजस्तो संस्थाले प्रशारण गर्न हुँदैनथ्यो । लाइभ कार्यक्रम भएकोले प्रशारण भयो । सम्पादन गर्न सकिने कुरा भएन ।
जनतालाई रेडियो नेपालबाट अशिष्ट शब्द सुनाउन नहुने भएकोले आफूले विज्ञप्ति निकालेरै क्षमा मागेको पनि कार्कीले बताए ।
‘कसैलाई लाञ्छना लगाउने खालका, अशिष्ट शब्द रेडियो नेपालले जनतालाई सुनाउनु त भएन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई लक्षित गरेका भाषाले समस्या उत्पन्न भएकोले मैले क्षमा मागेको छु ।
भट्टराईले यस्ता शब्द यसअघि विभिन्न प्लेटफर्महरूमा प्रयोग गर्दै आएको आफूले सुने पनि त्यस्ता शब्द रेडियो नेपालबाट प्रशारण गर्न नमिल्ने पनि उनले बताए। कार्कीका अनुसार कार्यक्रम सञ्चालकले सोधेका प्रश्नभन्दा बाहिर गएर भट्टराईले जवाफ दिएका थिए ।
‘हामीले सोधेका थियौं अर्कै कुरा, उहाँले जवाफ दिनुभयो अर्कै,’ उनले सेतोपाटीसँग भने। अन्तरसंवादको आजको अंक किन अनलाइनबाट हटाइएको भन्ने प्रश्नमा उनले आफूलाई त्यो जानकारी नभएकोले बुझ्नुपर्ने बताए ।
‘अनलाइनबाट कसरी हट्यो त ? म हेर्न लगाउँछु । हटेको रहेछ भने हाल्न लगाउँछु,’ उनले भने । यसअघि उनले निकालेको विज्ञप्तिमा ‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ उल्लेख गरेका थिए ।

सेतोपाटीबाट