कोटेश्वर बैठकबाट निचोड निस्केन, भोलि सचिवालय बैठक बस्ने

१५ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ । छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी थिए ।
छलफल सकिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताए । पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी समेत दिएका छन् ।
नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम भएको बताए । भोलि सचिवालय बस्छ, त्यसपछाडि स्थायी कमिटीमा अलि मिलेर जानुपर्छ अहिलेकै समस्या लिएर स्थायी कमिटिमा जाने हो भने झन भद्रगोल हुन्छ,’ पन्तले भने ‘कम्तिमा एकखालको समस्यालाई छोट्याएर जाऊ भन्ने खालको कुरा भयो ।
छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी रहे । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी
थिए ।
वरिष्ठ नेता नेपाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा हुन् ।
नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति का २० जना सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।