कोटेश्वरको छलफलको कुनै औचित्य छैन– झलनाथ खनाल

१५ वैशाख, काठमाडौं । सरकारले ल्याएको अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीच भएका संवादहरुबाट तत्कालै समस्याको समाधान हुने सम्भावना कम हुँदै गएको संकेत देखिन थालेको छ ।
आज बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफल लगत्तै ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु नेता नेपालको कोटेश्वरस्थित घरमा छलफलमा जुटेका छन् । तर ओली पक्ष र नेपालपक्षबीच भएका ती छलफलमा प्रचण्ड र झलनाथ खनालसँग कुनै छलफल नगरिएको बुझिएको छ ।
कोटेश्वरमा दुईपक्षबीच छलफल भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का बरिष्ठ नेता झलनाथ खनालबीच खुमलटारमा २ घण्टा छलफल भयो । प्रचण्ड र खनालबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको नेता खनालले बताएका छन् ।
तर उनले कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीचको छलफललाई औचित्यहीनको संज्ञा दिए । ‘त्यो छलफल औचित्यहीन छ,’ नेता खनालले प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग भने, चाडोभन्दा चाडो सचिवालय बोलाउनुस् । त्यसपछि स्थायी समिति बैठक बोलाउनुस् र सबै समस्या पार्टीको विधि र प्रक्रियाबाट टुंगो लगाउनुस् भनेर मैले भनेको छु । कोठामा बसेर र चोचोमोचो मिलाएर गरिएका छलफको कुनै अर्थ छैन । विधिसम्मत ढंगले पार्टीका संस्थागत निकायमा बसेर, छलफल गरेर, ठोस निष्कर्ष निकालेर पार्टीलाई अग्रगामी दिशामा अगाडि बढाउनुपर्छ’, खनालले भनेका छन् ।