चेम्बर अफ कमर्सद्धारा पर्यटनमन्त्रीलाई सुझाव

१५ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारलाई १७ बुँदे सुझाव दिएका छन् । नेपाल चेम्बर अफ कमर्सले कोरोनाभाइरसको महामारीले पर्यटन क्षेत्रमा गम्भीर प्रभाव पारेको भन्दै सो प्रभावबाट मुक्त गर्न उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिएको छ । अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रतर्फ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सुझाव पेश गरेका हुन् ।
कोरोना प्रभाव कम हुने वित्तिकै सरकारले अनिवार्य रुपमा वर्षको एकपटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्नुपर्ने सुझावमा उल्लेख छ ।
यस्तै चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको भन्दै आउँदो सेप्टेम्बर(अक्टोबर महिनामा शुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्र्याउने तर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने भनिएको छ ।
नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चिनियाँ एयरलाइन्सहरुले चीनको बिभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्र्याउनेतर्फ पहल गरिनु पर्ने सुझाव मन्त्री समक्ष दिएका छन् ।