Breaking News

पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

कृष्णबहादुर कार्की

७ वैशाख, कास्की । सत्तारुढ गठबन्धन दलको हिजा्े बसेको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा तालमेलको सहमति अनुसार पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव थापाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक आज दिउँसो एक बजे बोलाइएको जानकारी दिए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

लेखक : कृष्णबहादुर कार्की