नायक पल शाह प्रकरण : नाबालिकाका बाबुले पनि बयान फेरे

६ वैशाख, काठमाडौं । नायक पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।

दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।