नेवि संघको ५३ औं स्थापना दिवस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच

नेपाल विद्यार्थी संघको आज ५३ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच भएको छ।

सभापति देउवाले नेविसंघ तदर्थ समितिमा सभापति मात्रै नियुक्त गरेका थिए । नेविसंघ केन्द्रीय कमिटीमा सभापति दुजाङ शेर्पा मात्रै छन्, पदाधिकारी र सदस्य मनोनीत गरिएको छैन।

नेविसंघको पूरा समिति ल्याउन पौडेलले सभापति देउवालाई आग्रह गरेका हुन्।

‘रामचन्द्रजीले नेविसंघ पदाधिकारी बनाउन भन्नुभयो। फेरि भागबन्डा गर्ने ? झगडा गर्ने हो भने गरे हुन्छ,’ देउवाले भने, ‘मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो भन्ने ? अनि आपसमा लड्ने ? अहिले नै नेविसंघमा पदाधिकारी विस्तार गर्ने चासो देखाएनन्। ‘दुजाङ शेर्पाको काम नेविसंघ अधिवेशन गराउने हो। जो जित्छ उसलाई हस्तान्तरण गर्ने हो,’ उनले भने, ‘भागबन्डा गर्दा झगडा मात्र हुन्छ।’

देउवाले नेविसंघ सभापति शेर्पालाई गाउँका स्कुलमा संगठन विस्तार गर्न आग्रह गरेका थिए । ‘सदरमुकामका स्कुलमा संगठन गरेर हुन्न। गाउँका स्कुलमा नेविसंघ बनाउनुस्,’ उनले भने।

पौडेलले पनि कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई नेविसंघ सदस्य बनाउन आग्रह गरेका थिए। ‘कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई नेविसंघ सदस्य बनाएर प्रजातन्त्रका पहरेदार बनाउनुपर्छ,’ पौडेलले भने।