अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रवर्द्धन युवा सेफ प्रतियोगितामा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रवर्द्धन गर्नका लागि भएको युवा सेफ प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको छ ।

सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतवार आयोजना गरेको प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको हो । प्रथम भएसँगै एकेडेमी अफ कलिनरी आर्ट कलेजले रु। एक लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै, दोस्रो गेट कलेज र तेस्रो रिट्ज कलेज भएका छन् । दोस्रो हुने गेट कलेजले रु। ५० हजार र तेस्रो हुने रिट्ज कलेजले रु। २५ हजार प्राप्त गरेका छन् ।

ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा भएको प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ श्याम लामा, सूर्यकिरण श्रेष्ठ र लक्ष्मणप्रसाद भण्डारी रहेका थिए ।

 

युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिएका थिए ।