मृतक अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत

४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।

हिजो शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।

अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग विवाह गरेकी
थिइन् । प्रेम इन्जिनियर हुन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।

नयाँ वर्षको अघिल्लो दिन साँझ ८ बजेतिर प्रेमले फोन गरेर घरमा बोलाएका थिए । अमृताका दाजु पुष्पक खत्रीकाअनुसार ‘घर नआए छोरालाई जे पनि गर्न सक्छु’ भनेर प्रेमले धम्क्याएका थिए । घर पुगेको करिब डेढ घण्टापछि अमृताले ‘असुरक्षित छु’ भनेर म्यासेज गरेको उनका दाई पुष्पकले दावी गरेका छन् । त्यसबारे इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरिरहेको छ ।

अमृता र प्रेमको साढे ७ वर्षका छोरा छन् । माइतबाट गएको केही समयपछि प्रेमले ससुरालीमा फोन गरेर अमृताले ‘विष सेवन गरेको’ हुनाले अस्पताल लगेको जानकारी दिएका थिए । घरबाट प्रहरीले विषको बट्टा बरामद गरेको छ । विष खुवाएको वा उनी आफैले खाइन्, भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

अमृताको शव रुपन्देहीस्थित प्रादेशिक अस्पतालमा छ । अमृताका श्रीमान प्रेम टण्डन ससुरा टहलसिंह टण्डन र सासु दीपा टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेर आरोपीहरुबारे अनुसन्धान भइरहेको छ ।