देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त

४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।

‘बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले भने, ‘उहाँहरु कार्यक्षेत्रमा जान र तयारी गर्न अबको केही दिन छुट्याइएको हो ।’ उनका अनुसार, जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् ।

निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।

निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ ।

मुख्य निर्वाचन अधिकृतले के काम गर्नेछन् ?

मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगको मातहतमा रहेर आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र अनुगमन गर्छन् । साथै आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम पनि उनैले गर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतको मुख्य काम गाउँ तथा नगरपालिकामा स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन गराउनु हो ।

निर्देशिकामा मुख्य निर्वाचन अधिकृतलाई पाँच फरक जिम्मेवारी तोकिएको छ । पहिलो, निर्वाचनमा खटिने कर्मचारीका लागि संघीयदेखि स्थानीय तहका कर्मचारीको विवरण मगाउन सक्नेछन् । साथै सरकारको स्वामित्वमा रहेका संस्थानदेखि विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण मगाउनेछन् ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाका अरु निर्वाचन अधिकृतसँग समन्वय गरेर सबै मतदान केन्द्रमा कर्मचारी खटाउने र त्यसको विवरण निर्वाचन अधिकृतलाई पठाउनुपर्ने निर्देशिकामा व्यवस्था छ । जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन अधिकृतहरुसँग समन्वय गर्ने भनी तेस्रो जिम्मेवारी तोकिएको छ ।

साथै मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतहरूबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ । निर्देशिकामा मुख्य निर्वाचन अधिकृतको अर्को कामबारे भनिएको छ, ‘आयोगले तोके बमोजिमका अन्य काम गर्ने ।’

स्थानीय तहमै खटिन्छन् निर्वाचन अधिकृतहरु

निर्वाचन आयोगले हरेक स्थानीय तहमा एकजना निर्वाचन अधिकृत खटाएको हुन्छ । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचन अधिकृतको काम समेत गर्छन् । निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचनका साथै गाउँ/नगर कार्यपालिकाको महिला, दलित र अल्पसंख्यक सदस्यको निर्वाचनको अधिकृतको रुपमा समेत काम गर्नेछन् ।

निर्वाचन अधिकृतको मुख्य काम गाउँ तथा नगरपालिकामा स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन गराउनु हो । निर्वाचन अधिकृतले आफ्नो कार्यालय र स्थानीय तहमा निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछन् भने त्यसै अनुसार मनोनयन दर्तादेखि निर्वाचनको नतिजा समेत घोषणा गर्नेछन् । मतदान केन्द्रको व्यवस्थापनदेखि मतगणनाको व्यवस्थापनका काम समेत निर्वाचन अधिकृतको हो ।

मतदान केन्द्रको अनुगमन, निरीक्षण लगायत मतगणना गर्न तोकिएको स्थानमा मतपेटिका संकलन गर्ने व्यवस्था मिलाउने र मतपेटिका बुझी सुरक्षितसाथ राख्ने काम समेत निर्वाचन अधिकृतको हो । यसपटकदेखि निर्वाचन आचारसंहिता पालना गर्ने गराउने भूमिका समेत निर्वाचन अधिकृतलाई तोकिएको छ । निर्वाचन गराउनका लागि निर्वाचन अधिकृतले सहायक निर्वाचन अधिकृत लगायतका कर्मचारी नियुक्त गर्छन् ।