३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।
हिजो शनिबार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा काँग्रेस नेताहरुले भरतपुरको मेयरको उम्मेदवार कुनै हालत छाड्न नहुने बताएका थिए । बैठकमा महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
तर सभापति देउवाले भरतपुर महानगर कमिटीकै सभापतिले उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् । भरतपुर नगर सभापति चित्रसेन अधिकारी हुन् । संस्थापन इतर समूहका उनी वडा नम्बर २१ को वडाध्यक्ष समेत हुन् ।
कांग्रेसको भरतपुर नगर र चितवन जिल्ला कमिटीले कुनै हालतमा मेयर नछाड्ने निर्णय गरेको छ । तर देउवाले नगर र जिल्लाको निर्णयलाई उल्लेख गरेनन्, तर नगर कमिटीका सभापतिले आफूलाई उपमेयर लड्छु भनिसकेको भन्दै मेयर माओवादीलाई दिने संकेत गरेको एक कार्यसम्पादन समिति सदस्यले जानकारी दिए ।
‘सभापतिले स्थानीय तहको कुरा भनेको महानगर होइन, महानगरले मानिसक्यो त भन्नुभयो,’ ‘तर जिल्ला कार्यसमितिले नमानेको, २९ वटै वडाले बैठक गरेको केही देख्नु भएन ।’
बैठकमा सभापति देउवाले कांग्रेसका कारण गठबन्धन टुट्न नहुने प्रष्ट मत राखेका छन् । धोका दिन कांग्रेसको इथिक्सले नदिने उनको तर्क थियो ।