Breaking News

राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु

३ वैशाख, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सुनुवाइ समितिले शनिबार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सवुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।

सूचना दिनेले नाम गोप्य राख्न पनि पाउने समितिले जनाएको छ । यो सूचना जिल्ला प्रशासन कर्यालय लगायत सम्भव भएसम्म अरु सरकारी कार्यालय र सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था गर्न पनि समितिले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।

२४ चैतको मन्त्रिपरिषद बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर, मलेसियामा ठिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदीलाई राजदूत सिफारिस गरेको थियो ।

त्यस्तै अष्ट्रेलियामा कैलाशराज पोखरेल, कतारमा डा. नरेन्द्रबिक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल भण्डारी, डेनमार्कमा प्रा.डा.रामस्वार्थ राय, जापानमा दुर्गाबहादुर सुवेदी, ब्राजिलमा निर्मलराज काफ्ले, इजिप्टमा सुशीलकुमार लम्साल राजदूत सिफारिस भएका छन् ।

राजदूत सिफारिस हुने अन्यमा संयुक्त राष्ट्रसंघको कार्यालय भियानामा भरतकुमार रेग्मी बहराइनमा तीर्थराज वाग्ले, बंगलादेशमा घनश्याम भण्डारी, म्यानमारमा हरिशचन्द्र घिमिरे र ओमानमा डोरनाथ अर्याल रहेका छन् ।

संसदीय सुनुवाइपछि नाम अनुमोदन भएमा उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।