२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको बताए ।
बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।
चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।