Breaking News

बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडाए

२ वैशाख, काठमाडौं । भक्तपुर मध्यपुरथिमि बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् ।

जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् ।

जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए । व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नुनसमेत नखाने चलन छ ।

एक महिनाअघिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरोले जिब्रो छेड्ने गरिन्छ । त्यसपछि महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले जात्राको निरन्तरा स्वरुप जिब्रो छेडेको बताए । यसपटक आफूले अन्तिम पटक जिब्रो छेड्ने उनले यसअघि नै बताएका थिए ।