नेपाल बार एसोसिएसनको निर्वाचनको आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ।
२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए।
भरखरै सकिएको मतगणनाअनुसार सत्ता गठबन्धनका घिमिरे अध्यक्ष निर्वाचित भएका हुन्। घिमिरेले ४४७४ मत ल्याएका छन्।
घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठेका थिए। घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्।
निर्वाचनबाट घिमिरेको प्यानल नै निर्वाचित भएको छ । घिमिरेले गतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई हराएका हुन्।
नेकपा एमालेनिकट विष्णुमणि अधिकारीले २४८२ मत ल्याएका थिए।
यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका थिए। गत चैत १९ मा बारको निर्वाचन भए पनि गणना गर्न समय लागेको थियो।