वीरगन्जबाट डेढ करोडको सामान बोकेका दुई वटा मालबाहक ट्रक सशस्त्र प्रहरी बलको नियन्त्रणमा

सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्रकमा ना७ख ९४२ र ना२ख ९५४३ रहेका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।

ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ।

यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए।

प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।