नेपाल प्रहरीको एआईजीमा भएको बढुवाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले दुबै पक्षलाई चैत २८ गतेका लागि छलफलका लागि बोलाएको छ । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका हुन् । ।
मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो । तर, उनीहरूभन्दा वरियतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए । पाण्डे नेतृत्वको समितिले वरियता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।