Breaking News

उप्रान्त ‘थप क्षति रोक्न काठमाडौँका दुई न्यायाधीशलाई इजलासबाट आउट’

चैत १४ गते सर्वोच्च अदालतले काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटेनीमार्फत् पत्र पठाएर काठमाडौँ जिल्ला अदालतका न्यायाधीशद्वय अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारीलाई सर्वोच्च अदालतमा हाजिर हुन भन्यो । न्यायाधीशद्वयलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमै काज अर्थात् जगेडामा रहने गरी जिम्मेवारीबाट मुक्त गरिदिएका थिए ।

कानुनतः न्यायाधीशहरुलाई अन्य काममा लगाउन पाइँदैन । तर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले दुई न्यायाधीशलाई सर्वोच्च अदालत काजमै तानिदिए । सर्वोच्च अदालत स्रोतका अनुसार काठमाडौँ जिल्ला अदालतका दुई न्यायाधीशले कैफियतपूर्ण फैसला गरेको र फैसलाको प्रति माग्दासमेत समयमै नदिएपछि उनीहरूलाई सर्वोच्च अदालत काजमा तानेर न्यायपालिकामा थप क्षति रोकिएको छ ।

न्यायाधीश अम्बिकाप्रसाद निरौलाको हकमा अपहरण मुद्दाका अभियुक्तलाई भारतीय नागरिक भन्दै सफाइ दिएको, २२ करोड ठगीको अभियोग लागेका मिटरब्याजीलाई सफाइ दिएको र यी दुईवटै फैसलामा गम्भीर त्रुटि देखिएको भन्दै कारबाहीस्वरुप तत्काललाई सर्वोच्च अदालत काजमा तानिएको हो ।

अर्का न्यायाधीश सूर्यप्रसाद अधिकारीले बुढानीलकण्ठ सवारी ज्यानका आरोपी पृथ्वी मल्ललाई सफाइ दिने नियतले फैसला गरेको र यी मुद्दाहरूमा आर्थिक चलखेल भएको भन्ने गुनासो र उजुरी आएको कारण उनीहरूलाई सर्वोच्च तानिएको हो । अब प्रक्रिया पूरा गरेर उहाँहरूमाथि छानबिन हुन्छ र दोषी देखिए कारबाही हुन्छ । तत्कालका लागि थप क्षति नपुराउन् भनेर जिम्मेवारीविहीन बनाइएको हो ।’