Breaking News

इन्डोनेसियामा १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा शिक्षकलाई मृत्युदण्डको सजाय

२२ चैत, काठमाडौं । इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।

बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि हिजो सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले जनाएको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो ।

एक शिक्षकको यो कुकृत्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् ।