२१ चैत, दाङ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दाङमा पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाएका छन् ।
ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको उनको दाबी छ । स्थानीय चुनावमा उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा र जनमत पार्टी लगायत दक्षिणपन्थी शक्तिसँग तालमेल गरेर अघि बढ्न खोजेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले दुई पटक संसद विघटन जस्ता संविधान विरोधी कार्य गर्दै ओली नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो वैचारिक अवरोधको रुपमा खडा भएको समेत आरोप लगाए ।
पाँचदलीय गठबन्धनका रुपमा स्थानीय निर्वाचन अघि बढ्दै ओलीलाई पारजित गरी दक्षिणपन्थी अवसरवाद खतराको अन्त्य गर्नुपर्ने बताए ।