२१ चैत, काठमाडौं । नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जित्यो ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपालले खेलेको सबै ५ खेल जित्यो ।
गत साता पीएनजी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला गुमाएको नेपालले टी(२० श्रृंखला जित्दै त्यसको बदला समेत लियो ।
फाइनलमा दीपेन्द्रले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले अविजित ५४ रन बनाएपछि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १६८ रन बनाएको थियो । दीपेन्द्रले ४ विकेट लिएपछि पीएनजी १६।१ ओभरमा ११८ रनमा अलआउट भयो । दीपेन्द्र प्लेअर अफ दी सिरिज घोषित भए ।
दीपेन्द्रले टी२० श्रृंखलामा एक शतक र दुई अर्धशतक प्रहार गरे । यस श्रृंखलामा नेपालका विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र अलराउण्डर आदिल अन्सारीले डेब्यु गरे ।