क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट

१४ चैत, काठमाडौं । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४(० को जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो ।

मेक्सिकोमा आयोजित सो विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।

केल लरिन र टाजोन बुचाननले गोल गरेपछि पहिलो हाफमा क्यानडाले अग्रता बनाएको थियो । दोस्रो हाफमा जुनियर होलेटले गोल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेका थिए ।

इतिहासमै दोस्रोपल्ट विश्वकपमा छानिएपछि टोरन्टोस्थित बीएमओ फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टोलीको सहभागिता छ । अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नो स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

छनोट प्रतियोगिताको शीर्ष ३ टोली कतारमा आगामी नोभेम्बर डिसेम्बरमा हुने फिफा विश्वकप खेल्नेछन् । चौथो स्थानमा रहने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।