१३ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । आज शनिबार साझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् ।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।
तर ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई वेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।
तर, गौतमको यस्तो सुझाव सुनेर आक्राशित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए ।
‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो ।
तर गौतमको सुझाव सुनेपछि ओली आक्राशित मात्र भएनन्, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’
बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसावकिताव आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए । गौतम नेकपाभित्रका हक्की स्वभावका नेता हुन् ।