बद्रियाबाट भारत गएका दुई जना भारतीयमा कोरोना भाइरस संक्रमित

१४ वैशाख, काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन् । त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना देखिएको भने छैन ।
प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिटेन्डेन्टले हस्ताक्षर गरेको सो पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमार्, यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने स्पष्ट उल्लेख छैन ।
यसैबीच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।