केरोना भाइरसबाट बेलायतमा मर्नेको संख्या दुईदर्जन

१३ वैशाख, काठमाण्डौ । कोरोना भाइरसका कारण बेलायतमा दुई दर्जन नेपालीको मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन् । दूतावासको सूचीमा भएका दुई दर्जन मध्ये आधा भन्दा धेरै भूतपूर्व गोर्खा नै छन् । मृतकमध्ये दुई जना महिला छन् भने अरू सबै पुरुष। मृत्यु हुने महिलामा एक ३२ वर्षीया र अर्की ३९ वर्षीया छन् ।
गोर्खा वेल्फेयर ट्रस्टले पनि शनिबारसम्म १८ जना पूर्व गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । एनआरएनए युकेले अहिलेसम्म ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएको जनाएको छ। तीमध्ये २७ जना उपचारपछि घर फर्किसकेको र ११ जना अझै उपचाररत रहेको बताइएको छ। कोरोनाका लक्षण देखिएका कारण करिब डेढ सय नेपाली घरमै आइसोलेसनमा बसेका छन् ।
बेलायतमा कोरोनाबाट ठूलो संख्याका नेपाली प्रभावित भइरहँदा यहाँस्थित समुदायले समस्यामा परेकाहरूलाई सहयोगको प्रयास गरिरहेको छ । नआरएनए युकेसहित अन्य केही संघ संस्थाले समस्यामा रहेका भूपू गोर्खा परिवारका वृद्धवृद्धा, विद्यार्थी लगायतलाई खाद्यान्न, स्वास्थ्य सामग्री लगायत सहयोग बाँड्न सुरू गरेका छन् ।