एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने प्रक्रिया सुरू

म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजार

आउँदो बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ।

‘कुन जिल्लामा कति मतदान केन्द्र छन्, त्यहीअनुसार सम्बन्धित जिल्लाहरूले म्यादी प्रहरी भर्ना लिन्छन्,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने।

स्थानीय चुनावका लागि म्यादी ४० दिनका लागि भर्ना गरिने छ। म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिएको केसीले बताए।

४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजार पाउँछन्।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।

दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन्।

तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन्।

चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्छन्।