सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
हिजो आइतबार राति दुधौली नगरपालिका-(५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए।
उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।
‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक नेपालले भने।
बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए।
टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए।
बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए।
घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ।
१० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।