काल नआईकन मरिन्न, हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर फर्किए – पानादेवी विक

कोरोना भाइरसका संक्रमित थपिने सँगै निको भएर घर फर्किने पनि जारी छ । आज धनगढी कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका १ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विकले कोरोनालाई जितेर घर फर्किइन् । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४९ जनामा देखिएको छ भने १२ जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क छ । प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमानले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी उनलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो ।  दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्वाब सङ्कलन गरी घर पठाइएको थियो । घर पठाइएको तीन दिनमा रिपोर्ट पोजिटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो । संक्रमण देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनै कोरोना विजेतासँग राससका लागि प्रकाश मिश्रले गरेको कुराकानी :

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ ?
मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो । त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो । मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ । अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ । सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु ।
तपाई त उमेरले पनि तीन बीस कटेको मान्छे, अस्पतालमा डाक्टर तथा नर्सहरूको व्यवहार कस्तो पाउनुभयो ?
मैले खूबै राम्रो व्यवहार पाएँ अस्पतालका डाक्टर तथा नर्सहरूबाट । उहाँहरू मलाई राम्ररी आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनु
हुन्थ्यो । आमा धेरै चिन्ता नगर्नुस्, तपाईं सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो । मैले समग्रमा अस्पतालमा आफूप्रति गरिएको व्यवहार धेरै राम्रो पाएँ । डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट ।
सुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो ?
म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टाइनमा बसेँ । शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन । शुरुमा म धेरै डराएको थिएँ तर पछि लाग्यो, काल नआईकन कसरी मरिएला र ? त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर आएको छु ।
तपाईलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लागेको थियो रु ककलाई सम्झनुभयो ?
ओहो, कुरै नगर्नुस, कत्ति खुशीँ थिएँ भन्ने कुरा म भन्नै सक्दिन । मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउतालाई सम्झिएँ । माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन । मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ ।
तपाईंसँग त मोबाइल पनि छैन, अस्पतालमा कसरी बिताउनुभयो एघार दिन ?
क्या गरुँ बाबु, अस्पतालको कोठामा आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ मैले अस्पतालमा आफ्ना दिनहरू । कहिले घर जान पाउँला जस्तो सोचेर बसिरहन्थेँ अस्पतालमा । एक्लै बस्दा मनमा नकारात्मक कुराहरू आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसेँ ।
अहिले अस्पतालबाट घर फर्किसकेपछि कसरी दिन बिताइरहनुभएको छ ?
अस्पतालमा त एउटै कोठामा थिएँ न्यास्रो पनि लाग्थ्यो तर यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु । बिहान उठेर आँगन लिप्छु , खाना पकाउँछु, खान्छु । घरमा अरू त सबै कुरा ठीक छ तर चर्पी छैन । त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ । चर्पी भएको भए धेरै दुःख हुँदैन थियो। बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु । मेरो एउटै चाहना छ अब चर्पी बनाउने ।
कोरोनालाई हराएर घर फर्किसकेपछि आफन्त, छिमेकीको व्यवहार कस्तो पाउनुभएको छ नि ?
सबैले राम्रै गरेका छन् । तपाईँ कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, तपाई ठिक भएर आएपछि सबै त्रास हराएको छ भन्छन् गाउँमा अहिले । कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरु । निकै खुशी लाग्छ आफन्त, स्थानीय तथा छिमेकीको व्यवहारप्रति ।
यो रोगलाई कसरी हराउन सकिँदो रहेछ नि ?
यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो । यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ । हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि । म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ ।