Breaking News

माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोक्दै निर्वाचनका लागि विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनायो

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक जारी छ । बैठक जारी सँगै आज पार्टी अध्यक्ष प्रचण्डले ९७ जनाको केन्द्रीय कमिटी सदस्यको नाम मनोनयन पेश गरेका छन् भने बैठकले आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो ।

सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।