नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । आज रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।
पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए । अध्यक्ष नेपालले भने– ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रविन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको बिस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । र जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’
यसैबीच, नेकपा ९एकीकृत समाजवादी० को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा जारी छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए । उनले भने– ‘२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । नीति तय गर्नेछ । पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ । तिनै विषयमा छलफल हुनेछ । सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ । नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ । त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा यसलाई लगिनेछ । अब हामी मुलरुपमा आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रीकृत गर्नेगरी लाग्नेछौँ । देशको राष्ट्रिय राजनीतिमा हाम्रो भुमिकालाई प्रभावकारी बनाउनको निम्ति आवश्यक नीतिहरु अवलम्वन गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । हामी न झुक्छौँ न बहकिन्छौं । हामी झुक्दा पनि झुक्दैनौँ । बहकिँदा पनि बहकिँदैनौँ । राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर काम गर्छौ भन्ने हाम्रो नीति छ ।’