महासचिव पौडेलको यूर्टन आगामी दिनमा कता ?

१२ वैशाख, सुर्खेत । एकीकृत पार्टी नहुनु भन्दा अगाडी तत्कालीन एमाले ओली खेमाका बिस्वास पात्र रहेका अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा सचिवालय सदस्य विष्णु पौडेलले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा युटर्न लिएको कतिपय नेकपाका नेताहरूले बताएका छन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अति नै विश्वासपात्र रहेका पौडेलले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी मन्त्रिपरिषदले जारी गरेका अध्यादेशको खुलेर समर्थन गरेका थिए ।
मन्त्रिपरिषदले अध्यादेश जारी गरेको साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषदको कदमको खुलेर समर्थन गर्ने तीन जनामा उनी पनि थिए । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँगै पौडेलले पनि अध्यादेशको बचाउ गरेका थिए ।
सचिवालय बैठकमा अध्यादेशबारे प्रधानमन्त्रीपछि बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौमत र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको विरोध गरेका थिए ।
बैठकको अन्तिमतिर बोलेका पौडेललेचाहिँ अध्यादेशको समर्थन गरे । ‘लोकतन्त्रमा पनि कुनै कानुनले मान्छेलाई पार्टीमा बाँधेर हुन्छ ?,’ पौडेलको तर्क थियो, ‘पार्टीमा बस्ने वा छोड्ने त मानिसको अधिकार हो । त्यसैले यो अध्यादेश ठिक छ ।’
उनले अध्यादेशको बचाउसँगै राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भइसकेको सूचना पनि बैठकलाई गराएका थिए ।

बालुवाटारमा औपचारिक निर्णयबिना सचिवालय बैठक सकिएको ७२ घन्टापछि बिहीबार साँझ भैंसेपाटीस्थित वामदेव गौतमको निवासमा प्रचण्डसहितका नेताहरू भेला भए । त्यहाँ भेला भएकामध्ये सबै नेताहरू सोमबारको सचिवालय बैठकमा अध्यादेशको विरोध गर्नेहरू थिए । दुई दिनअघि बालुवाटारमा अध्यादेशको बचाउ गरेका पौडेल पनि भेलामा सहभागी भए ।
उक्त भेलाले अध्यादेश ल्याउनु गलत भएको, गलत अध्यादेश तत्कालै फिर्ता लिनु पर्ने र सरकारले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए स्थायी समिति बोलाएर पार्टीमा छलफल गर्ने निष्कर्ष निकाल्यो । यसअघि बुधबार नै २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।
भैंसेपाटीमा भेला भएका नेताहरूले अपहरणको शैलीमा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याइएको घटनाले पार्टी बदनाम भएको ठहर गरे ।
प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन लगाउने, नगरे पार्टी स्थायी समिति बैठक बोलाउने निर्णयमा पौडेल सहमत हुनुलाई नेकपाको शक्ति सन्तुलनमा उनको युटर्न मान्नेहरू धेरै छन् ।
नेकपाका एक स्थायी समिति सदस्यले पौडेलमा पार्टी्भित्रको राजनीति सुँघ्न सक्ने घ्राणशक्ति निकै तीक्ष्ण भएको बताए।
‘याम परिवर्तन हुन लाग्दा चराहरू चिसो ठाउँबाट न्यानो ठाउँतिर बसाइ सर्छन्,’ ती स्थायी समिति सदस्यले भने,‘विष्णु पौडेल याम परिवर्तन हुन लागेको थाहा पाएर सबैभन्दा पहिला हिँड्ने चराजस्तै हुन् ।

पौडेलले नेकपाभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमको मूल्यांकन गरेर अर्को क्याम्पतिर लागेका हुन् वा अध्यादेशको विषयमा पुनर्विचार गरेर धारणा परिवर्तन गरेका हुन् एकिन छैन ।
पौडेल अध्यादेशका विषयमा मात्र प्रचण्ड(नेपाल समूहसँग एकमत भएका हुन् वा भैंसेपाटी भेलामा उनको सहभागिता स्थायी रूपमै क्याम्प परिवर्तनको सुरूआत हो आगामी दिनहरूमा प्रष्ट हुँदै जाला । समाचार सेतोपाटीबाट