कोरोना भाइरसबाट अमेरिकामा ५० हजारको हाराहारीमा मृत्यु

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसले गर्दा अहिले सबै भन्दा बढी प्रभावित अमेरिका रहेको छ । अमेरिकामा आजसम्म कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक नजिक पुग्न लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार दुई सय ४३ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या आठ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।
यसैबीच अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या पनि २ करोड ६५ लाख नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको असर बेरोजगारीको संख्यामा देखिएको हो । अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरुले चेतावनी दिँदै आएका पनि छन् ।